कार्यक्रमगणेश ऐडी
सुदुर-पश्चिम प्रदेशमा छलफल
सुदूरपश्चिम प्रदेशमा प्राकृतिक रेशा उद्योग तथा रोजगारी सिर्जनासम्बन्धी छलफल
सुदूरपश्चिम प्रदेशमा प्राकृतिक रेशाजन्य उद्योगको विकास, भाँगो तथा अल्लोजस्ता रैथाने वनस्पतिबाट प्राप्त हुने रेशाको उत्पादन र प्रशोधन तथा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भयो।
उक्त छलफलमा प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख, विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरू, उच्च पदस्थ कर्मचारीहरू तथा रैथाने औद्योगिक प्रतिष्ठानका संस्थापकहरूको सहभागितामा प्राकृतिक स्रोतसाधनको व्यावसायिक उपयोग र स्वदेशी उद्योगको विकासबारे विचार आदानप्रदान गरियो।
छलफलमा भाँगो, अल्लो तथा अन्य प्राकृतिक रेशालाई आधुनिक प्रविधिबाट प्रशोधन गरी धागो, कपडा र विभिन्न औद्योगिक वस्तु उत्पादन गर्ने सम्भावनामा जोड दिइयो। साथै, बन्द अवस्थामा रहेका उद्योगहरूको पुनःसञ्चालन, स्थानीय कच्चा पदार्थको उपयोग तथा गाउँगाउँमा साना र मझौला उद्योग स्थापना गर्ने विषयमा छलफल भयो।
रैथाने औद्योगिक प्रतिष्ठानले अघि सारेको सार्वजनिक–सामाजिक साझेदारी (PSP) अवधारणामार्फत सरकार, समुदाय र उद्यमीबीच सहकार्य गरी स्थानीय किसान, महिला तथा युवालाई सीप, रोजगारी र आयआर्जनका अवसर प्रदान गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यलाई महत्वपूर्ण रूपमा प्रस्तुत गरियो।

