रैथाने औद्योगिक प्रतिष्ठान नेपालमा अभाव भएका वस्तु
रैथाने औद्योगिक प्रतिष्ठान नेपालमा अभाव भएका वस्तु तथा सेवासँग सम्बन्धित उद्योग स्थापना गर्ने, गराउने र सञ्चालनमा सहयोग गर्ने उद्देश्यले जनताबाट स्थापना गरिएको मुनाफा वितरण नगर्ने औद्योगिक संस्था हो। यस प्रतिष्ठानको मूल उद्देश्य व्यक्तिगत नाफा कमाएर वितरण गर्नु होइन, प्रतिष्ठानबाट प्राप्त आम्दानीलाई पुनः उद्योग विकास, प्रविधि विकास, तालिम, प्राविधिक ज्ञान र उत्पादन विस्तारमा मात्र लगानी गर्नु हो। यस अर्थमा प्रतिष्ठानले आफ्नो आम्दानीलाई देशको औद्योगिक सम्पत्ति बढाउने माध्यमका रूपमा प्रयोग गर्नेछ।
नेपालमा दैनिक आवश्यकताका धेरै वस्तु ठूलो मात्रामा आयात भइरहेका छन्। नेपालमा उपलब्ध प्राकृतिक कच्चा पदार्थको सम्भावना अत्यन्त ठूलो छ। नेपाली जनतालाई आवश्यक पर्ने वस्तुभन्दा धेरै गुणा बढी उत्पादन गर्न सकिने प्राकृतिक स्रोत र कच्चा पदार्थ नेपालमै उपलब्ध छन्। तर कच्चा पदार्थको प्रशोधन, आधुनिक प्रविधि, दक्ष जनशक्ति, प्राविधिक ज्ञान र उत्पादनसम्बन्धी पाठ्यक्रमको अभावका कारण ती स्रोतको पर्याप्त उपयोग हुन सकेको छैन।
यस समस्याको समाधानका लागि प्रतिष्ठानले पुरानो तथा परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्ने, उत्पादनमुखी तालिम सञ्चालन गर्ने, दक्ष जनशक्ति तयार गर्ने तथा वस्तु निर्माणसम्बन्धी प्राविधिक पुस्तक र पाठ्यसामग्री तयार गर्ने कामलाई प्राथमिकता दिनेछ। किसान, युवा, घरेलु उद्यमी र उद्योग सञ्चालन गर्न चाहने जनतालाई व्यवहारमा प्रयोग गर्न सकिने ज्ञान तथा प्रविधि उपलब्ध गराइनेछ।
नेपालमा विभिन्न कारणले बन्द भएका उद्योगलाई पुनः सञ्चालनमा ल्याउनु पनि प्रतिष्ठानको महत्वपूर्ण उद्देश्य हो। सरकारबाट स्थापना भएका उद्योगहरू सरकारकै स्वामित्वमा कायम रहने, सरकारी सम्पत्ति जनताको सहभागिताबाट सञ्चालन हुने र त्यसबाट सरकारी सम्पत्ति बढाउने हाम्रो अवधारणा हो।
यसै अवधारणालाई PSP (Public Social Partnership) अर्थात् सार्वजनिक सामाजिक साझेदारीका रूपमा अघि बढाइनेछ। PSP मार्फत सरकारको सम्पत्ति सरकारकै रहने तर जनताको सहभागिता, सीप, व्यवस्थापन र उत्पादन क्षमताबाट त्यसलाई सञ्चालन गरी देशको औद्योगिक सम्पत्ति बढाउने व्यवस्था विकास गर्ने लक्ष्य राखिएको छ। रैथाने औद्योगिक प्रतिष्ठानको दीर्घकालीन उद्देश्य नेपाललाई कच्चा पदार्थ निर्यात गर्ने र तयार वस्तु आयात गर्ने देशबाट आफ्नै प्राकृतिक स्रोतमा आधारित वस्तु उत्पादन गर्ने औद्योगिक राष्ट्रमा रूपान्तरण गर्नु हो। स्थानीय कच्चा पदार्थ, स्थानीय सीप, आधुनिक प्रविधि र जनताको सहभागिताबाट उद्योग विकास गरौं; आयात घटाऔं, उत्पादन बढाऔं र नेपाललाई औद्योगिक रूपमा आत्मनिर्भर बनाऔं।


